दोलखा, १७ असार । पार्किङ गरिराखिएको गाडीभित्र मृत भेटिएका सहचालकका परिवार तथा आफन्तजनले उचित क्षतिपुर्ति पाउनुपर्ने र घटनाको निष्पक्ष छानविन गरिनुपर्ने माग गर्दै दोलखाको चरिकोट–सिङ्गटी सडक अवरुद्ध पारेका छन् ।
शनिबार सदरमुकाम चरिकोटमा सरोकारवालाहरुवीच छलफल भएपनि कुनै ठोस निर्णय हुन नसकेपछि पीडित पक्षले चरिकोट–सिङ्गटी सडकको बन्चरेमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् । अवरोधका कारण सिङ्गटीबाट चरिकोट तर्फ आउने र जाने सवारीका साधन बीच बाटोमै रोकिएको ईलाका प्रहरी कार्यालय सिङ्गटीका प्रमुख प्रहरी निरिक्षक सानु तमाङले जानकारी दिए ।
पीडित पक्षले गाडी धनी र यातयात समितिले समस्या समाधानमा कुनै चासो नदिएको आरोप लगाएको छ । पीडित परिवारले गाडी धनी र समितिका तर्फबाट तत्कालिन राहतसँगै घटनाको छानविन गर्नुपर्ने र दोषी ठहरिए कानुन बमोजिम कारबाही हुनुपर्ने माग राखेको छ । तर पूर्व अरनिको यातयात समितिका उपाध्यक्ष सुरेन्द्र बस्नेतले घटना प्रशासनको अधीनमा रहेकाले आफुहरुले केही गर्न नसक्ने बताए । घटनामा संलग्न भएको भन्दै गाडी चालक सहित तीन जना मजदुर प्रहरी हिरासतमै रहेको अवस्थामा क्षतिपुर्तिको माग गर्दै सडक अवरुद्ध गर्नु तर्कसङ्गत नभएको बस्नेतको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता राजेश सिग्देलका अनुसार पीडित पक्षबाट निवेदन वा जाहेरी नपरेका कारण थप प्रक्रिया अघि बढाउन सकिएको छैन । घटनाको छानविन र क्षतिपुर्ति फरक विषय भएकाले सबै सरोकारवालाको पहलबाट मात्रै समाधान निस्किने प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा कुनै ठोस निर्णय हुन नसक्दा चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालको शवगृहमा राखिएको शवको पोष्टमार्टम पनि हुन सकेको छैन ।
तर पीडित पक्षले भने तत्काल गाडी धनी र समितिका तर्फबाट प्रारम्भिक क्षतिपुर्ति पाएपछि मात्रै थप प्रक्रिया अघि बढाउन सहमत हुने बताउँदै त्यसो नभए आन्दोलनलाई सदरमुकाम केन्द्रित गर्ने जनाएको छ । गौरीशङ्कर गाउँपालिका ३ का वडाअध्यक्ष युग बहादुर बस्नेतले पीडित परिवारलाई क्षतिपुर्ति र घटनाको निष्पक्ष छानविनको विषय फरक–फरक भएकाले सम्बन्धित पक्षलाई यथाशीघ्र सहमतिमा आउन आग्रह गरेका छन् । उनका अनुसार मृतकको परिवारको अवस्था अत्यन्तै जटिल र दयनीय रहेकाले मानविय कुरामा पनि ख्याल गरिनुपर्ने अवस्था रहेको छ ।
शुक्रबार विहान कालिञ्चोक गाउँपालिका ३ स्थित बन्चरे नजिकै पार्किङ गरि राखिएको बा २ ख ८३९ नम्बरको यात्रुबाहक बसका सहचालक दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ३ महताराका नारायण बहादुर खत्री मृत भेटिएका थिए ।