दोलखा, १६ असार । नेकपा माओवादी केन्द्र दोलखाले आफ्ना नेतामाथि साङ्घातिक आक्रमण गर्नेहरुलाई कारबाहीको माग गरेको छ ।
माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ ज्योतिले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका बागमती प्रदेश सदस्य एवं तामाकोशी गाउँपालिकाका इन्चार्ज उपेन्द्र अधिकारी र तामाकाशी गाउँपालिका कमिटीका कोषाध्यक्ष सुमन मिजार माथि भएको आक्रमणलाई रहस्यमय भन्दै दोषीहरुलाई कानूनको दायरामा ल्याउन ध्यानाकर्षण गराएका हुन् । इँटको जवाफ पत्थरले दिन आफूहरुलाई पनि आउने तर आफूहरु सचेततापूर्वक स्थानीय प्रहरी र प्रशासनको भूमिकाको प्रतिक्षा गर्ने भन्दै संयोजक श्रेष्ठले घाइते नेताका परिवारजन, पार्टी नेता तथा कार्यकर्तालाई धैर्यधारण गर्न अनुरोध पनि गरेका छन् ।
नेताद्वय अधिकारी र मिजारलाई शनिबार साँझ तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालु डाँडागाउँमा गोपाल तिमिल्सेना, हरि योगि, सुमन बयलकोटी लगायतको समूहले सांघातिक आक्रमण गरी घाइते बनाएको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको माओवादी केन्द्रका अध्यक्ष राजु शर्माले जानकारी दिए । शर्माका अनुसार अधिकारी र मिजार तामाकोशी २ झुलेमा वडा सम्मेलन सम्पन्न गरी घर फर्कने क्रममा थिए । मिजार तामाकोशी गाउँपालिकाका कार्यपालिका सदस्य समेत हुन् ।