दोलखा, ०२ मंसिर । दोलखाको तामाकोशी गाउँपालिकामा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । तामाकोशी मन्थली सडक खण्ड अन्तर्गत तामाकोशी गाउँपालिका १ सिस्नेरी स्थित सडकमा भएको दुर्घटनामा परी अर्का एक युवक घाइते भएका छन् ।
तामाकोशीबाट मन्थली तर्फ गइरहेको बागमती प्रदेश ०१, ००३ क ९३५९ नम्बरको मिनिट्रक र विपरित दिशाबाट आइरहेको बा २९ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तामाकोशी १ माझीगाउँका २२ वर्षका शुशिल माझीको मृत्यु भएको हो । मोटरसाइकलको पछाडी सवार सोही स्थानका माइकल माझी गम्भिर घाइते भएका छन् । उनको सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृती अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ । मिनिट्रकका चालक रामेछापको मन्थली नगरपालिका १३ का श्याम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैवीच, मृतकका परिवार तथा आफन्तजनले क्षतिपुर्ति र दोषीमाथि कारबाहीको माग गर्दै तामाकोशी मन्थली सडक अवरुद्ध पारेका छन् । अवरोधका कारण दोलखाको दक्षिणी भेगबाट सदरमुकाम चरिकोट हुँदै काठमाण्डौ जाने र आउने सवारीका साधन बीच सडकमै रोकिएका छन् । स्थानीय प्रशासनको रहोबरमा दोलखाकै किर्नेटारमा पिडित पक्ष र गाडीधनीका बीचमा वार्ता चलिरहेको घटनास्थलबाट प्रहरी निरिक्षक जीवन श्रेष्ठले जनतापेजलाई जानकारी दिए ।