दोलखा, २२ साउन । दोलखाको कालिञ्चोक गाउँपालिकाको केन्द्र विवाद ६ वर्षपछि टुङ्गिएको छ । गाउँपालिकाको सोमबार सम्पन्न १२ औँ गाउँसभाले वडा नम्बर ४ स्थित कुभिण्डे खेल मैदानलाई गाउँपालिकाको केन्द्र तोकेसँगै विवाद टुङ्गिएको हो ।
अघिल्लो कार्यकालका गाउँपालिका अध्यक्ष अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठक पक्षको विवादका वीच उनीहरुको कार्यकाल केन्द्र विवाद नटुङ्गिदै सकिएको थियो । दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी र उपाध्यक्ष कुल बहादुर बुढाथोकी लगायत बहुमत सदस्यको समर्थनले कुभिण्डेलाई गाउँपालिका केन्द्र तोकेको हो ।
केन्द्रका विषयमा गाउँसभा सदस्यहरु विभाजित हुँदा मतदान गर्नुपर्ने अवस्था आएको थियो । कुभिण्डेमा स्थायी पालिका केन्द्र स्थापना गर्ने भनी उपाध्यक्ष बुढाथोको समर्थनमा अध्यक्ष शिवाकोटीले गरेको प्रस्तावका पक्षमा कुल ४७ मध्ये ३२ मत प्राप्त भएको थियो भने प्रस्तावको विपक्षमा ९ मत परेको थियो । ६ जना गाउँसभा सदस्यहरुले भने पक्ष वा विपक्ष कतै पनि आफ्नो मत व्यक्त गरेनन् ।
स्थायी केन्द्रका रुपमा तोकिएको कुभिण्डे जिल्लाको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र सिङ्गटी बजारबाट ४ किलोमिटरको दुरीमा अवस्थित बन्चरे बजार नजिकै चरिकोट–सिङ्गटी सडकमार्ग सँगै अवस्थित छ । भुगोल र पहुँचका हिसावले गाउँपालिकाका सबै वडाबासीलाई पायक पर्ने भएकाले गाउँसभाका दुई तिहाई सदस्यहरुको समर्थनमा कुभिण्डेलाई स्थायी केन्द्र तोकिएको हो ।
स्मरण रहोस्, यसअघिका अध्यक्ष थामीले वडा नम्बर ६ को लापिलाङ र उपाध्यक्ष पाठकले वडा नम्बर ३ को पोखरेमा स्थायी केन्द्र तोक्नुपर्ने अडान लिएपछि सिर्जित विवादले अध्यक्ष र उपाध्यक्षका वीचमा हात हालाहालको स्थिती समेत सिर्जना भएको थियो । सोही अवस्थाको नतिजा स्वरुप गाउँपालिकाको कामकाज अहिलेसम्म वडा नम्बर ८ स्थित सुनखानीमा रहेको स्वास्थ्य चौकीको भवनबाट सञ्चालन हुँदै आएको छ ।



