दोलखा, २२ जेठ । दोलखाको कालिञ्चोक गाउँपालिकाले गाउँपालिका भरका आधारभूत तथा माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि विविध अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।
कालिञ्चोक ३ सिङ्गटी स्थित कालिनाग माविको प्राङ्गणमा सोमबार कक्षा ९ देखि १२ सम्म हाजिरीजवाफ, ६ देखि ८ सम्म निबन्ध लेखन र कक्षा १ देखि ५ सम्म श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएको हो । जसमा हाजिरी जवाफ तर्फ हिलेपानी संस्कृत मावि प्रथम, लापिलाङ मावि द्वितिय, सित्का मावि तृतिय र जाल्पाश्वरी मावि सान्त्वना स्थान हासिल गर्न सफल भए । हाजिरी जवाफमा ११ ओटा माध्यमिक विद्यालयका ३३ जना विद्यार्थीहरुले भाग लिएका थिए ।


त्यस्तै छात्र निबन्ध लेखन तर्फ कालिनाग मावि सुनखानीका उज्ज्वल थापा प्रथम, सित्का माविका सरोज राउत द्वितिय, कालिनाग मावि सिङ्गटीका सविन पाठक तृतिय र भगवती माविका योगेश खत्री सान्त्वना भए भने छात्रा निबन्ध लेखन तर्फ भगवती माविकी दीपशिखा बस्नेत प्रथम, भगवती आविकी प्रणिता खुलाल द्वितिय, लापिलाङ माविकी दिपिका थामी तृतिय र जाल्पाश्वरी माविकी अस्मिता बुढाथोकीले सान्त्वना स्थान हासिल गरिन् । यो प्रतियोगितामा १५ ओटा विद्यालयका २९ जनाले सहभागिता जनाएका थिए ।
त्यस्तै विभिन्न २० वटा विद्यालयका प्रावि तह (१–५) सम्मका २० जना विद्यार्थीले भाग लिएको श्रुतिलेखन प्रतियोगितामा देवीस्थान आधारभूत विद्यालयका राहुल मैनाली प्रथम, जाल्पाश्वरी माविका क्रितन खत्री द्वितिय, सित्का माविकी रेबिका पाण्डे तृतिय र भगवती माविकी सुबानी अर्याल सान्त्वना भए । प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी, शिक्षा तथा सामाजिक विकास हेर्ने वडा नम्बर ७ का वडा अध्यक्ष राम पाण्डे, गाउँपालिकाकी शिक्षा शाखा प्रमुख रोशनी आचार्य, कालिनाग माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पाठक लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
