सिङ्गटी, ०६ साउन । दोलखाको गौरीशङ्कर ९ स्थित सिप्रिङखोला जलविद्युत आयोजनाको बाँधस्थल मूलखर्क क्षेत्रमा आएको पहिरो र बाढीमा परी एक जना बेपत्ता भएका छन् भने चार जना भीरमा फसेका छन् ।
गयराती ११ बजेतिर आएको बाढी र पहिरोमा परी ड्याम क्षेत्रमा गाई र बाख्राको गोठ लिएर गएका गौरीशङ्कर ९ का अन्दाजी ७०/७२ वर्षका चसमान तामाङ बेपत्ता भएका हुन् । घटना स्थलमा रहेका आयोजनाका कर्मचारी मणिक विनोद श्रेष्ठका अनुसार तामाङलाई माथिबाट आएको पहिरोले चौपाया र गोठ सहित पुरेको छ । श्रेष्ठ सहित आयोजनाका अन्य कर्मचारीहरू सुकदेव श्रेष्ठ, सुर्य बहादुर तामाङ र कल्याण बिक उद्धारको पर्खाइमा छन् । हिजो राती ठूलो पानी पर्नासाथ उनीहरू सदा झैँ भीरको ओडारमा बस्न गएका थिए । जनतापेजसँगको कुराकानीमा श्रेष्ठले आफूहरू भीरको ओडारमा सुरक्षित साथ बसेको तर पहिरोले फर्कने बाटो अवरूद्ध भएकाले फर्कन नसकेको जानकारी दिए । आफूहरू फर्कने बाटोमा पहिरोको लेदो आएर पुरिएकोले फर्कन जोखिम भएको उनले बताए । तर घाम लागेर लेदो सुकेकोअवस्थामा आफूहरू फर्कन सम्भव रहेको उनको भनाइ छ ।
बेपत्ताको खोजी र भीरको खुड्किलोमा फसेकाहरूको सुरक्षित उद्धारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी सहितको टोली जगतबाट घटनास्थल तर्फ अगाडी बढिसकेको छ । गौरीशङ्कर गाउँपालिका ९ का वडाध्यक्ष ङिमागेली शेर्पाले उद्धारमा आफू स्वयं पनि खटिएका छन् । पैदलै जानुपर्ने भएकाले घटनास्थल पुग्न केही समय लाग्ने स्थानीयबासीले जनाएका छन् ।
बाढी र पहिरोले आयोजनाको ड्यामको संरचनामा पूर्ण रूपमा क्षति पुर्याएको श्रेष्ठले जनाए । जसका कारण हाल सो आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।


