चरिकोट, २४ फागुन । दोलखा सदरमुकाम चरिकोटमा जारी “प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद रित बहादुर खड्का स्मृति भलिबल प्रतियोगिता”को उपाधीका लागि दोलखाको जिरी नगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका भीड्ने भएका छन् ।
बिहिबार भएको सेमी फाइनल खेलमा रामेछापको मन्थली नगरपालिकालाई हराउँदै जिरी र सिन्धुलीको कमलामाइ नगरपालिकालाई हराउँदै मेलम्चीले उपाधी यात्रा तय गरेका हुन् । दुवै टिमबीच शुक्रबार विहान ११ बजे उपाधी भीडन्त हुनेछ । त्यसअघि बिहान ८ बजे तेस्रो स्थानका लागि मन्थली नगरपालिका र कमलामाइ नगरपालिकाबीच खेल हुनेछ । चरिकोट स्थित भीमेश्वर रङ्गशालामा जारी प्रतियोगितामा बागमती प्रदेश भरका १४ ओटा टिमले सहभागिता जनाएका थिए । बिहिबार नै सम्पन्न क्वार्टर फाइनलका खेलबाट दोलखाको विगु गाउँपालिका, गौरीशङ्कर गाउँपालिका, ललितपुरको बागमती गाउँपालिका र रामेछापको लिखु तामाकोशी गाउँपालिकाले प्रतियोगितामा आफ्नो यात्रा टुङ्ग्याएका थिए ।
सहिद सप्ताहको अवसर पारेर सहिद रितबहादुर खड्काको स्मृति र कृतित्वलाई कायम राख्दै दोलखाको पर्यटन प्रबर्धनमा मा समेत सहयोग पुर्याउने उद्देश्यले आयोजित प्रतियोगिता दोलखामा अहिलेसम्म आयोजित भलिबल प्रतियोगिता मध्ये सबैभन्दा धेरै पुरस्कार राशि भएको प्रतियोगिता हो । प्रतियोगिताको बिजेता टोलीले २ लाख ५१ हजार र उपबिजेताले १ लाख ५१ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै तेस्रो हुनेले ५१ हजार र सान्त्वना स्थान हासिल गर्नेले २१ हजार पाउनेछन् ।