रामेछाप, २७ माघ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ स्थित तामाकोसी नदीमा यात्रुबाहक बस खस्दा १२ यात्रुको मृत्यु भएको छ । बस काठमाडौंबाट रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङगा तर्फ जाँदै थियो ।
मृत्यु हुनेहरुमा रामेछाप जिल्लाका ८, दोलखाका २ र सिन्धुलीका एक रहेका छन् । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २८ वर्षीय दिपेश बस्नेत, उनका भाई २६ वर्षका दिपेन्द्र बस्नेत, सोही गाउँपालिका वडा नम्बर ७ कि ३५ वर्षीया सानुमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीय भीमबहादुर तामाङ, २४ वर्षीया रमिता तामाङ, सोही गाउँपालिका वडा नम्बर ६ कि ३५ वर्षीया मानकुमारी बरुवाल र उपमाकुण्ड गाउँपालिका वडा नम्बर ६ भुजीका २२ वर्षीय विशाल सुनुवारको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।
त्यस्तै, दोलखाको भीमेश्वर नगरपालिका –७ कि २५ वर्षीया बबी तामाङ र सोही नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय मानबहादुर तामाङको पनि सोही दुर्घटनामा परी मृत्यु भएको छ । त्यस्तै अर्का मृतकमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका ६ का ३४ वर्षीय शिव श्रेष्ठ रहेका छन् । अन्दाजी ६० वर्षका एक मृतकको भने सनाखत हुन सकेको छैन ।
प्रदेश ३ ०१ ००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस खुर्काेट-मन्थली सडक खण्डको मन्थली नगरपालिका वडा नम्बर ६ स्थित बेनीघाट पुल नजिक तामाकोसी नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएकाहरुको मन्थली, खुर्काेट लगायतका अस्पतालमा प्रारम्भिक उपचारपछि धुलिखेल, काठमाडौं लगायत विभिन्न अस्पताल पुर्याएर उपचार भइरहेको छ । बसका चालक पनि सामान्य घाइते भएको र उपचार पश्चात प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका मृतकहरु मध्ये बस्नेत दाजुभाई दुर्घटनाग्रस्त बसका धनी समेत भएको बुझिएको छ । ती मध्ये वैदेशिक रोजगारीबाट ६ महिना अघि मात्रै स्वदेश फर्किएका दिपेश राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता समेत थिए । (रामेछापबाट पत्रकार अप्रिल अधिकारीको साथमा)



