चरिकोट, १२ बैशाख । नेकपा माओवादी केन्द्र दोलखाले आफ्ना विभिन्न जनवर्गिय सङ्गठनहरुको फ्याक्सन इन्चार्ज तोकेको छ ।
बुधबार सदरमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको विस्तारित बैठकले जिल्लाका ७४ ओटै वडाहरुको अधिवेशन सम्पन्न गर्न कमाण्डर समेत तोकेको छ । बैठकले महिला सङ्गठनको फ्याक्सन इन्चार्जको जिम्मेवारी पार्टी जिल्ला संयोजक कमल श्रेष्ठ ज्योतीलाई दिएको छ भने विद्यार्थी सङ्गठनको फ्याक्सन इन्चार्जको जिम्मेवारी सचिव सन्तोष केसीलाई तोकेको छ । यसैगरी दलित सङ्गठनको जिम्मेवारी पूर्व जिल्ला संयोजक कुलबहादुर बुढाथोकीलाई दिइएको छ । शिक्षक सङ्गठन भने जिल्ला इन्चार्ज विशाल खड्का आफैले हेर्ने भएका छन् ।
बैठकले सदस्यता नविकरण अभियान र आर्थिक व्यवस्थापनका सम्बन्धमा पनि विभिन्न निर्णय गरेको छ । साथै दुई महिना भित्र सबै जनवर्गिय सङ्गठन तथा वडाहरुको सम्मेलन, भेला, अधिवेशन लगायतका कार्य पनि यथाशक्य छिटो गर्ने निर्णय गर्दै सोही अनुसार तयारीमा लाग्न कमाण्डरहरुलाई निर्देशन समेत दिइएको माओवादी केन्द्र दोलखाका कार्यालय सचिव एवं प्रवक्ता पुष्कर कुमार अधिकारीले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, स्थायी कमिटी सदस्य शशी श्रेष्ठ , पोलिट ब्युरो सदस्य गङ्गा कार्की ,पार्टी केन्द्रिय सदस्य शङ्कर लामा, बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री, दोलखा जिल्ला इन्चार्ज विशाल खड्का लगायतले समसामयिक विषयमा धारणा राख्नुको साथै प्रशिक्षण दिएका थिए ।