दोलखा, ०९ मंसिर । नेकपा एमाले दोलखाका प्रभावशाली नेता भरत प्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेसँगै दोलखाको राजनीतिक सरगर्मी एकाएक बढेको छ ।
दुई/दुई पटक एमालेको जिल्ला सचिव, दुई÷दुई पटक एमालेको जिल्ला अध्यक्षको बलियो उम्मेद्वार, शैलुङ गाउँपालिकाका प्रथम एवम् सफल अध्यक्ष दुलालको नेकपा प्रवेशले दोलखामा नेपाली कम्युनिष्ट पार्टीलाई कमजोर भनेर खिसिट्युरी गर्नेहरु जिल खाएका छन् । दुलाललाई मङ्गलबार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले पार्टीमा स्वागत गर्दै केन्द्रिय सदस्यको जिम्मेवारी समेत दिइसकेका छन् ।
नेकपा एमालेमा लामो राजनीतिक यात्रा तय गरेर खारिएका नेताका रूपमा परिचित दुलालले एमालेबाट नेपालको कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने ठहर गर्दै सच्चा कम्युनिष्ट शक्तिहरू एकतावद्ध हुनुपर्ने वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै आफू नेकपामा आवद्ध भएको बताएका छन् ।
दुलालको एमाले परित्यागले दोलखा एमालेमा भने ठूलै हलचल मच्चिएको छ । यद्यपी दोलखा एमालेका केही सिमित बाहेक जिम्मेवार नेताहरू केही नभएको जस्तो गरी प्रतिक्रिया विहिन भएका छन् । केही सिमित एमालेमा आवद्ध व्यक्तिहरूले सामाजिक सञ्जालमा दुलालको कदमलाई आलोचना गरेपनि कमेन्टमा भने दुलालको कदमलाई सहि भनेर शुभकामना दिनेहरूकै सङ्ख्या बढी देखिन्छ ।
विद्यार्थीकालदेखि नै एमालेमा सक्रिय राजनीति गर्दै आएका दुलाललाई वास्तवमा पछिल्लो केही वर्ष यता दोलखा एमाले वृत्तमा बेवास्ता गरिँदै आएको थियो । एमाले दोलखाको हालको नेतृत्वले दुलाललाई सामान्य कार्यकर्ता भन्दा फरक व्यवहार नगरेको जानकारहरू बताउँछन् । एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चारमन्त्री पार्वत गुरूङ २०६६ सालमा दोलखा एमालेको अध्यक्ष बन्दा दुलाल सचिव भएका थिए । त्यस्तै नेता इश्वरचन्द्र पोखरेलको पालामा पनि उनी सचिव बनेका थिए । नवौँ र दशौँ जिल्ला अधिवेशनमा भने जिल्ला अध्यक्ष पदकै उम्मेद्वार बनेका उनी विजयी भने बन्न सकेका थिएनन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दोलखाको शैलुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका दुलालको कार्यकालमा शैलुङको विकासमा उल्लेख्य प्रगति भएको थियो ।

दुलालको नेकपा आगमनसँगै अब दोलखाको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ । तत्कालिन माओवादी नेताहरू देवी खड्का, विशाल खड्का, गङ्गा कार्की एवम् तत्कालिन समाजवादीका नेताहरू भीम प्रसाद दाहाल, प्रोणप्रताप केसी, घनश्याम रिजाल लगायतको टिममा दुलाल पनि जोडिएसँगै दोलखाको राजनीतिक तराजू नेकपाकै पक्षमा ढल्किने प्रक्षेपण गरिएको छ ।



