दोलखा, २ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टचार नियन्त्रण र सुशासन कायमका लागि सरकार दृढतापूर्वक लागेको बताएका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा शनिबार आयोजित जनयुद्धका सहिद रितबहादुर खड्काको २१ औँ स्मृती दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टचार नियन्त्रण र सुशासन कायम गराउने सवालमा आफ्नो वा अर्काको नभनी सरकारले निष्पक्ष ढङ्गले अघि बढेको र यसलाई टुङ्गोमा पुर्याएरै छाड्ने दावी गरे । राष्ट्रियता र परिवर्तनको रक्षा तथा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्दै मुलुकलाई सामाजिक र आर्थिक रुपान्तरणको दिशामा सरकार अघि बढ्ने श्रेष्ठको भनाई छ ।
अर्काे एक प्रसङ्गमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेको श्रेष्ठले माओवादी पार्टी प्रति जनताको विश्वास अझै कायम रहेको भन्दै पार्टी निर्माणको काम थप व्यवस्थित रुपमा अगाडी बढ्ने धारणा राखे । माओवादी पार्टी वैचारिक र सैद्धान्तिक विचार मिल्ने अन्य दलहरुसँग एकता तथा कार्यगत एकता गरेर अगाडी बढ्ने भन्दै केही दिनमा समाजवादी केन्द्र घोषणा हुने बताए । उनका अनुसार अहिले भएको अन्य दलहरुसँगको कार्यगत एकता पनि कायमै रहनेछ ।