सिङ्गटी, २९ भदौ । ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको बिगु गाउँपालिकाले आयोजना गरेको आधारभूत तह (कक्षा ६–८) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शारदा मावि बुलुङ प्रथम भएको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सोमबार बिगु ४ स्थित शान्ति आदर्श माविमा सम्पन्न प्रतियोगितामा विगु ३ स्थित शारदा मावि प्रथम भएको हो । प्रथम हुने उक्त विद्यालयले नगद १० हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसैगरी शान्ति आदर्श माध्यमिक विद्यालय बिगु –४ ले द्वितीय स्थान हासिल गर्दै नगद ७ हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा देवलिङ्गेश्वर माध्यमिक विद्यालय बिगु–२ तृतीय र हिमालय मावि बिगु -८ सान्त्वना हुन सफल भए । उनीहरूले क्रमशः नगद रू. ५ हजार र ३ हजार प्राप्त गरे ।
प्रतियोगिताका विजेताहरूलाई बिगु गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र खड्का, शिक्षा शाखा प्रमुख गणेश श्रेष्ठ लगायतले पुरस्कार, शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त गर्दै वक्ताहरूले यस्ता कार्यक्रमले विद्यार्थीको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।


