दोलखा, १३ असोज । नेकपा एमालेको बागमती प्रदेश कमिटीको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका दोलखाका इश्वरचन्द्र पोखरेल पराजित भए । त्यस्तै दोलखाबाटै उपसचिव पदमा उम्मेद्वारी दिएका डबल पाण्डे पनि पराजित भए ।
६६ जना प्रतिनिधि रहेको दोलखाबाट प्रदेश कमिटी पदाधिकारीमा पोखरेल र पाण्डे दुवै अटाउने अपेक्षा कार्यकर्ता पङ्तीको थियो । तर पार्टी भित्रको गुटबन्दी प्रदेशको चुनावी मैदानमा पनि हावी हुँदा हातमा आएको जीत खुस्किएको कार्यकर्ताको बुझाई छ । उक्त रबैयाको सामाजिक सञ्जालहरुमा खुलेर विरोध भइरहेको छ ।
दोलखामा खासगरी नेताद्वय आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ पक्षवीच तीब्र अन्तरविरोध रहेको छ । उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका पोखरेल नेता आनन्द पोखरेल प्यानलका रुपमा चिनिन्छन् भने पाण्डे गुरुङ गुटका रुपमा चित्रित छन् । त्यस्तै पोखरेल खेमाको भनेर चिनिएका नेता केशव चौलागाईं पनि बागमती प्रदेश कमिटीको सदस्य पदमा उम्मेद्वारी दिएर पराजित भए । उनले सामाजिक सञ्जाल मार्फत नेता गुरुङ, अध्यक्ष नर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर लगायतको नामै तोकेर आफुलाई हराउन ह्वीप जारी गरिएको बताएका छन् । उनको यो पोष्टबाट दोलखाका प्रतिनिधिहरुले गुटमा विभाजन भएर एक अर्कालाई मत नदिएको अनुमान गर्न सकिन्छ । सदस्य पदमा पराजित अर्का नेता तीर्थ बहादुर खड्काले पनि दोलखाली नेताहरु प्रति आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
शुक्रबार राती सम्पन्न निर्वाचनबाट एमालेको प्रदेश अध्यक्षमा कैलाशप्रसाद ढुङ्गेल, उपाध्यक्षमा दावादोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेम कुमार महर्जन र भक्तकुमारी लामा चयन भएका छन् । दोलखाबाट भरत केसी, बालकृष्ण शिवाकोटी, कृष्ण बहादुर भुजेल, कालिका पाठक, टेक घतानी, रोचकुमारी चौलागाई, उर्मिला थामी, डा. जानुका न्यौपाने, हरिवंश चौंलागाई, टंक बहादुर जिरेल, लक्ष्मण गुभाजु, धर्मेन्द्र मोक्तान, उर्मिला खड्का लगायत सदस्य पदमा चुनिएका छन् भने गुणबहादुर बुढाथोकी, ठूला थामी, हर्कमान तमाङ, सन्तोष खड्का, भुवन केसी, तीर्थ बहादुर खड्का, उमेश आचार्य लगायत पराजित भएका छन् ।