सिङ्गटी, २८ मंसिर । दोलखाको कालिन्चोक गाउँपालिकामा आइतबार अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ, जसमा कालिन्चोक ९ स्थित कालिका मावि प्रथम भएको छ ।
गाउँपालिकाको कार्यालय नजिक कालिनाग माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित विज्ञान प्रदर्शनीमा कालिका माविका विद्यार्थीहरूले उर्जा उत्पादन र वितरणमा वातावरणीय सन्तुलन कायम राख्नुपर्ने आशयको मोडल प्रस्तुत गरेका थिए ।

प्रदर्शनप्मा कालिन्चोक ३ स्थित कालिनाग माध्यमिक विद्यालय सिङ्गटी दोस्रो भएको छ भने कालिन्चोक ८ स्थित कालिनाग मावि तेस्रो भएको छ । कुल ५ ओटा माविले सहभागिता जनाएको प्रदर्शनीमा विद्यार्थीहरूले घरायसी एवम् स्थानीय स्तरमा पाइने सामाग्रीको प्रयोग गरी विज्ञानसँग सम्बन्धित खगोलीय विषय, स्मार्ट सिटी, हरित उर्जा जस्ता आविष्कारहरू प्रदर्शन गरेका थिए ।

गाउँपालिकाका सामाजिक विकास संयोजक एवम् कालिन्चोक ७ का वडाध्यक्ष राम पाण्डे ‘उदीप’को अध्यक्षतामा सम्पन्न विज्ञान प्रदर्शनीमा गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी ‘रोशन’ले विजयी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष सुर्य बहादुर आचार्य, कालिनाग मावि सुनखानीका प्रधानाध्यापक ऋषिराम शर्मा लगायत विभिन्न विद्यालयका विज्ञान शिक्षकहरूको सहभागिता रहेको थियो ।

पालिका स्तरीय प्रदर्शनीमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई सोमबार सदरमुकाम चरीकोटमा हुने जिल्ला स्तरीय विज्ञान प्रदर्शनीमा सहभागि गराइने गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु आचार्यले जानकारी दिए ।



