दोलखा, ३१ जेठ । २० औ विश्व रक्तदाता दिवसको अवसर पारेर स्वयंसेवी रक्तदाता समाज दोलखाले बुधबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
“रगत वा प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने कार्यमा ऐक्यबद्धता हौऔँ” भन्ने नारा सहित आयोजित अन्तरक्रिया कार्यक्रममा रक्तदान सम्बन्धि अभियानमा सरोकारवालाहरुको भूमिका कस्तो रहन्छ भन्ने बारेमा छलफल भएको थियो । स्वयंसेवी रक्तदाता समाज दोलखाका अध्यक्ष श्याम गौतमको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, निमित्त प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, नेपाल रेडक्रस सोसाइटीका गोकण प्रसाद पोखरेल लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा सेना, प्रहरी, अस्पताल र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी तथा पत्रकार लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


