चरीकोट, १७ कार्तिक । दोलखाको रोल्वालिङ हिमश्रृङ्खला अन्तर्गत यलुङ री हिमालको बेस क्याम्प नजिकै आएको हिमपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।
सोमबार विहान आएको हिमपहिरोमा पुरिएर मृत्यु हुनेमा २ नेपाली र १ विदेशी नागरिक रहेको भएता पनि उनीहरुको पहिचान हुन सकेको छैन । हिमपहिरोमा पुरिएका ४ विदेशी र ४ नेपाली अझै बेपत्ता रहेका छन् । दोलखा प्रहरीले ३ जनाको शव घटनास्थलमै फेला परेको र अन्य ८ जना अझै बेपत्ता रहेको पुष्टि गरेको छ । हिमपहिरोमा परी घाइते भएका ४ जना गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ मा पर्ने ना गाउँमा आइपुगे पनि खराब मौसमका कारण उद्धार हुन सकेको छैन । उद्धारका लागि गएको हेलिकप्टर ना गाउँमा अवतरण गरेको र मौसममा सुधार आए मङ्गलबार विहानबाट बेपत्ताहरूको खोजीकार्य सुरू गरिने दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । समयमै उद्धार गर्न जान नसकिएका कारण हिमपहिरोमा पुरिएर बेपत्ता भएकाहरूलाई समेत जिवितै फेला पार्न सकिने सम्भावना कम रहेको जानकारहरू बताउँछन् ।
५६३० मिटर उचाइको यलुङ री हिमाल आरोहणका लागि ५ विदेशी र १० नेपाली सहित १५ जनाको टोली यलुङ री बेस क्याम्प पुगेको थियो । आरोहणका लागि गएका विदेशीहरूमा २ जना इटालियन र १/१ जना जर्मन, फ्रान्स र क्यानडाका नागरिक रहेका छन् ।



