काठमाडौं, ३० भदौ । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूलाई सहिद घोषणा गर्दै उनीहरूको शोकमा आगामी असोज १ गते राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । उक्त दिन शोक विदा हुनेछ ।
मन्त्रिपरिषद् विस्तारपछि सोमबार बसेको अन्तरिम मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलनका मृतकका परिवारलाई १० लाख रूपैयाँ क्षतिपूर्ति र ५ लाख रूपैयाँ अन्य खर्च गरी प्रतिपरिवार १५ लाख रूपैयाँ राहत स्वरूप दिने निर्णय पनि गरेको छ । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुको साथै उनीहरूको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय भएको जानकारी दिए ।
साथै बैठकले आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । त्यस्तै जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि उच्च स्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि सरकारले गरेको छ । यद्यपी यसको संरचना कस्तो हुने भन्ने बारेमा भने टुङ्गो लाग्न बाँकी छ ।
त्यसैगरी जेनजी आन्दोलनका मृतकको सम्झनामा जेनजी स्मारक पार्क निर्माण गर्ने निर्णय पनि सरकारले गरेको छ, तर पार्कका लागि स्थान भने तोकिएको छैन । जेनजी आन्दोलनका कारण हालसम्म ७२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले यसअघि केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा पेश भएका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमै फर्काउने निर्णय समेत गरेको छ ।



