चरिकोट, ४ असोज । नेपाली कम्युनिस्ट पार्टी नेकपा ले दोलखामा जिल्लास्तरीय विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका तीन केन्द्रीय नेताले समसामयिक राजनीति, वैचारिक विषय र सङ्गठन सञ्चालनबारे जिल्ला तहका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् ।
नेकपा दोलखा जिल्ला समितिको स्कुल विभागले चरिकोटस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको प्रशिक्षणमा नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र बेदुराम भुसालले छुट्टाछुट्टै विषयमा प्रशिक्षण दिएका हुन् । श्रेष्ठले समसामयिक राजनीतिक परिस्थिति र अबको कार्यदिशा, भुसालले नेपाली विशेषताको वैज्ञानिक समाजवाद तथा पुनले सङ्गठनात्मक संरचना र कार्यप्रणालीका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका क्रममा नेताहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको दृष्टिकोण प्रस्तुत गर्दै संविधान र लोकतान्त्रिक उपलब्धिको संरक्षण तथा कम्युनिस्ट आन्दोलनको पुनर्गठनबारे धारणा राखेका थिए । उनीहरूले पार्टीको वैचारिक तथा सङ्गठनात्मक अवस्थालाई समयअनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल तथा नेकपा केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले पनि समसामयिक विषयमा आ–आफ्नो राखेका थिए । जेनजी आन्दोलनपछि पहिलोपटक जिल्लामा आयोजना गरिएको उक्त प्रशिक्षणमा नेकपा दोलखाका पार्टी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता नेकपा दोलखाका नेता होम पाठकले गरेका थिए ।


