भक्तपुर, ११ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइई परीक्षाको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कुर्नै प्राविधिक समस्या नआए बुधबार ४ बजेभित्र नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २६.२५ अङ्क ल्याउनै पर्नेछ भने आन्तरिकतर्फ २५ पूर्णाङ्कमा ४० प्रतिशत अर्थात १० अङ्क ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ । सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीको मार्कसिटमा एनजी (ननग्रेडेड) उल्लेख गरिने छ ।


साथै कुनै एक विषयमा आन्तरिक तर्फ १० र सैद्धान्तिक तर्फ न्यूनतम अङ्क नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अङ्क ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । एसइईको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गरिने छ ।
एसइईको नतिजा कसरी थाहा पाउने जानिराख्नुहोस् ।
