दोलखा, १९ जेठ । दोलखामा शुक्रबार आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा शहिद स्मृती आवसिय माविकी छात्रा प्रथम भएकी छिन् ।
जिल्ला युवा समिति दोलखाले आयोजना गरेको युवा र नवप्रवर्तन विषयक वक्तृत्वकला प्रतियोगितामा शहिद स्मृती आवासिय मावि जिरीकी छात्रा मेलिसा ढुङ्गेलले प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा पशुपति कन्या मावि चरिकोटकी विपना नेपाली र मेलुङ गाउँपालिकाका सुदिप कुमार कार्कीले क्रमश: द्वितिय र तृतिय स्थान हासिल गरे । जिल्लाका विभिन्न ७ स्थानीय तहका १९ जनाले प्रतिस्पर्धा गरेको प्रतियोगिताका बिजेताहरुले १५, १० र ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे ।

जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शङ्करबाबु श्रेष्ठ, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जिवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, विद्यालयका प्रअ तथा शिक्षक, विद्यार्थी सङ्गठनका प्रमुख तथा प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।


