चरिकोट, २१ फागुन । दोलखामा सोमबारदेखि हालसम्मकै सर्वाधिक पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता सुरु भएको छ । दोलखा युवा सञ्जालले सहिद सप्ताहको अवसर पारेर “प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता” आयोजना गरेको हो ।
तियोगिताको नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं पूर्व राज्यमन्त्री देवी खड्काले औपचारिक रुपमा उद्घाटन गरिन् । सहिद रितबहादुरकी सहोदर बहिनी समेत रहेकी खड्का उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा भावुक समेत बनेकी थिइन् । सञ्जालका अध्यक्ष पुष्कर कुमार अधिकारीको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समरोहमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्का, अर्का केन्द्रिय सदस्य नरबहादुर पाख्रिन, जिल्ला संयोजक कुलबहादुर बुढाथोकी रोशन, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी नेता तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागि थिए ।
बागमती प्रदेश भरका कुल १४ ओटा टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा रामेछापको मन्थली नगरपालिकाले दोलखाको तामाकोशी गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ । प्रतियोगिताका बाँकी खेल मङ्गलबार विहानबाट सुरु हुने सञ्जालका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक नवराज अर्यालले जानकारी दिए ।
यो प्रतियोगिता दोलखामा हालसम्म आयोजना भएका मध्ये सबैभन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो । जसमा प्रथम स्थान हासिल गर्नेले २ लाख ५१ हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले १ लाख ५१ हजार र तेस्रो तथा सान्त्वना स्थान हासिल गर्नेले ५१ र २१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।