हेटौडा, २१ मंसिर । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
यससँगै आयोगको बोर्डले अब पूर्णता पाएको छ । गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा सपथ लिनुभएको हो । आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितीमा सदस्य खड्कालाई शपथ गराउनुभएको हो ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम खड्का आयोगको सदस्यमा नियुक्त हुनुभएको हो । दोलखाको गौरीशङ्कर गाउँपालिका ५ सुरीका स्थायी बासिन्दा खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बन्नुभएको हो ।