काठमाडौं, २९ भदौ । नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब-भत्ता पाउने सबै कर्मचारीले दशैं अगाडि नै तलब-भत्ता पाउने भएका छन् ।
अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयले सरकारले आइतबारदेखि भुक्तानी दिने काम थालिसकेको जानकारी दिए । उनका अनुसार धेरैजसो भन्सार विन्दु सञ्चालनमा आइ राजस्व सङ्कलनको काम समेत सुचारु भएको छ ।
पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य कार्यालय सञ्चालनमा आइसकेका छन् । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए ।



