दोलखा, २३ साउन । गाउँपालिकाको स्थायी केन्द्र तोक्न सोमबार भएको मतदानमा तटस्थ बसेका दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सहदेव खड्काले मङ्गलबार सोही विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड गरेका छन् ।
मङ्गलबार दिउँसो गाउँपालिकाको कार्यालय पुगेका वडाध्यक्ष खड्काले प्रमुख कार्यकारी अधिकृत नवराज ओलीको कार्यकक्षमा पसेर तोडफोड गरेका हुन् । कार्यकारी खै भन्दै कार्यकक्षमा प्रवेश गरेका खड्काले प्रमुख कार्यकारी अधिकृत ओलीको कुर्सी, कम्प्युटर, प्रिन्टर, सोफा लगायत सामान फालेको निमित्त प्रमुख कार्यकारी अधिकृत रोशनी आचार्यले जानकारी दिइन् ।
गाउँपालिकाको स्थायी केन्द्र तोक्नका लागि सोमबार भएको मतदानमा वडाध्यक्ष खड्का सहित उनको वडाका चार जना वडा सदस्यहरु तटस्थ बसेका थिए । गाउसभाले दुई तिहाई बहुमत सहित वडा नम्बर ४ को कुभिण्डेलाई स्थायी केन्द्र तोकेको थियो । मतदानका बेला तटस्थ बसेर भोलिपल्टै तोडफोडमा उत्रिने वडाध्यक्ष खड्काको रबैयाले सबै आश्चर्यचकित बनेका छन् । स्रोतका अनुसार खड्का लगायत वडा नम्बर ६ वडाध्यक्षको लापिलाङलाई स्थायी केन्द्र तोक्ने चाहना रहेको थियो । तर गाउँसभाले अन्यत्रै स्थायी केन्द्र तोकेपछि लापिलाङ क्षेत्रका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले आक्रोश व्यक्त गरिरहेका छन् ।
लापिलाङलाई स्थायी केन्द्र बनाउन यसअघिका अध्यक्ष विनकुमार थामीले पनि भरमग्दुर प्रयास गरेका थिए । तर तत्कालिन उपाध्यक्ष कालिका पाठक समूहको असहमति र अवरोधका बीच उनी असफल भएका थिए ।