दोलखा, ०१ जेठ । दोलखामा स्व. भीम बहादुर तमाङको स्मृतीमा खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
भीम बहादुर तमाङ स्मृती प्रतिष्ठान, नेपाल र दोलखा जिल्ला बुद्धिचाल संघको सहयोगमा दोलखा चेस होम नामक संस्थाले आउँदो जेठ ५ देखि ९ गतेसम्म भीम बहादुर तमाङ स्मृती खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगिता आयोजना गर्न लागेको हो । सदरमुकाम चरिकोट स्थित कालिञ्चोक माविको हलमा आयोजना हुने प्रतियोगिताको कुल लागत २५ लाख भन्दा बढी रहेको आयोजक चेस होमका अध्यक्ष गोविन्दमान श्रेष्ठले जनतापेजलाई जानकारी दिए ।
चेस खेलको सबैभन्दा ठूलो अन्तराष्ट्रिय संस्था फिडेमा समेत दर्ता गरी आयोजना गरिएको उक्त अन्तराष्ट्रिय रेटिङ चेस प्रतियोगितामा नेपाल सहित विभिन्न १० मुलुकका करिव २५० खेलाडी सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने खेलाडीले पुरस्कार स्वरुप नगद १ लाख, द्वितिय हुनेले ६० हजार र तृतिय हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा खुल्ला तर्फका १५ जना सहित उत्कृष्ट खेलाडीहरुका लागि समेत गरी पुरस्कारमा मात्रै ४ लाख ८३ हजार खर्च हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।