दोलखा, २२ पौष । गत पौष १३ गतेदेखि सुरु भएको बृहत दोलखा महोत्सव २०८० थप दुई दिन लम्बिएको छ ।
महोत्सवमा आगन्तुकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले मङ्गलबारसम्म महोत्सव लम्ब्याइएको आयोजक दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा आइतबारसम्म ५० हजार थान टिकट बिक्रि भइ महोत्सव अवलोकन गरिएको र अझै पनि जिल्लाका विभिन्न स्थान एवं राजधानी काठमाण्डौ र छिमेकी जिल्लाहरुबाट समेत अवलोकनका लागि मानिसहरु आइरहेको संघका महासचिव शुरेस उप्रेतीले जानकारी दिए ।
“दोलखा महोत्सवको दिव्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि” भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा स्थानीय कृषि तथा औद्योगिक उत्पादन एवं विभिन्न कम्पनीका १५० ओटा स्टलहरु रहेका छन् । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत भइरहेको छ ।