सितली, २९ मंसिर । नेपाली कम्युनिष्ट पार्टी दोलखाले जिल्लाको मेलुङ गाउँपालिकामा एकता सन्देश सभा सम्पन्न गरेको छ ।
सितलीमा सम्पन्न भएको सभालाई नेकपाका केन्द्रदेखि स्थानीय स्तरसम्मका विभिन्न नेताहरूले प्रशिक्षणात्मक एवम् प्रतिवद्धतायुक्त सम्बोधन गरे । नेकपाका स्थानीय नेता रामकृष्ण खत्रीको अध्यक्षतामा सम्पन्न सभालाई नेकपाको महाधिवेशन आयोजक समितिका सदस्य विशाल खड्का, घनश्याम रिजाल, गोपाल न्यौपाने, बद्रि चौलागाईं, चुनु केसी, संगिता पाख्रिन, नर पाख्रिन, रविन्द्र कार्की, वैकुण्ठ भण्डारी, श्रीराज पोखरेल लगायतले सम्बोधन गरे ।

सम्बोधनका क्रममा नेताहरूले देशको विषम परिस्थितीमा एक भएको पार्टीलाई फेरी टुट्ने र फुट्ने छुट नभएको भन्दै त्यसो गरिए देश र जनताप्रति ठूलो गद्धारी हुने र जनताले माफी नदिने धारणा राखे । उनीहरूले देशमा कम्युनिष्ट ध्रुविकरणको आवश्यकता निकै पहिलेदेखि नै भए पनि विभिन्न आन्तरिक तथा बाह्य तत्वहरूका कारण पटक पटक असफल हुँदै आएको स्पष्ट पारे । अहिलेको एकता प्रक्रियामा सामेल नभएर आफूलाई ठूलो कम्युनिष्ट पार्टी सम्झनेहरू वास्तविक कम्युनिष्ट नभएको नेताहरूको दावी थियो । देश र जनताको पक्षमा भन्दै विभिन्न नाममा दलहरू दर्ता भइरहेको तर्फ इङ्गित गर्दै उनीहरूले पुराना र अनुभवी दलहरूको एकताबाट मात्रै जनताको वास्तविक हित हुने र त्यो नेपाली कम्युनिष्ट पार्टीबाट मात्रै सम्भव भएको स्पष्ट पारे ।




