चरिकोट, १२ जेठ । दोलखा सदरमुकाम चरिकोटमा रहेको एपेक्स स्कूलले विद्यार्थीहरुको पठनपाठन क्रियाकलापलाई थप परिस्कृत गर्दै स्मार्ट लनिङ एप लन्च गरेको छ ।
विद्यालयबाट हुने अध्ययन अध्यापनको कार्यलाई थप सहज र प्रविधिमैत्री बनाउँदै उत्कृष्ट सिकाइ उपलब्धी हासिल गर्ने उद्धेश्यका साथ लन्च गरिएको लर्निङ एपको शनिबार एक समारोहका बीच भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरले शुभारम्भ गरे । स्मार्टर नामक स्मार्ट लर्निङ एपको शुभारम्भ गर्दै मेयर मानन्धरले विद्यालयहरुमा प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ उपलब्धीमा निकै फाइदा पुग्ने विश्वास व्यक्त गरे । विद्यालय र विद्यार्थीले घरमा समेत प्रयोग गर्न मिल्ने उक्त लर्निङ प्लेटफर्म प्रयोगका सम्बन्धमा एपेक्स स्कुलले आफ्ना अभिभावकहरुलाई आवश्यक सहजीकरण समेत गरेको छ ।
विद्यालयका प्रिन्सिपल नसिव कायस्थका अनुसार विद्यालयका प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड मार्फत श्रव्यदृष्य माध्यमबाट पठनपाठन कार्य सन्चालन गरिनेछ । साथै घरघरमा उपलब्ध हुने स्मार्ट टिभी, कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका साधनमा विद्यालयले प्रदान गरेको युजर आइडी लगइन गरेर विद्यार्थीले आवश्यकता अनुसार कक्षाको पुनरावलोकन समेत गर्न सक्ने भएकाले स्मार्ट लर्निङ एप प्रभावकारी हुने विश्वास विद्यालय र अभिभावक दुवैको छ । हाल एप्लिकेशनमार्फत गणित, विज्ञान र सामाजिक विषयको मात्रै कक्षा सन्चालन गरिने र आवश्यकता अनुसार बाँकी विषयलाई पनि थप गर्दै जाने प्रिन्सिपल कायस्थले बताए ।