सिङ्गटी, ०२ जेठ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) दोलखाको बीसौँ जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
सिङ्गटी स्थित कालिनाग माविमा भएको सम्मेलनको बन्दसत्रले नवराज बस्नेतको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण खाती र कमल थापा मगर चयन भएका छन् भने सचिवमा रुपेश अर्याल, सह–सचिवमा कञ्चन तामाङ, किरण श्रेष्ठ र सुमन लोहार तथा कोषाध्यक्षमा मेलिसा ढुङ्गेल चयन भएका छन् ।


अखिल (क्रान्तिकारी) दोलखाको नेतृत्व गर्न ७ जना विद्यार्थी नेताले ईच्छा व्यक्त गरे पनि सहमतिका क्रममा हालका संयोजक आर्टिस्ट मोक्तान तथा सह–संयोजकद्वय विकल खड्का र हरि खड्काबीच सहमति हुन सकेको थिएन । सहमतिका लागि उनीहरु तीन जनाका बीच विभिन्न चरणमा छलफल, समन्वय र वार्ता भए पनि असफल भएपछि सङ्गठनको केन्द्रिय नेतृत्व र पार्टी नेतृत्वको सहमतिमा यसअघि नेतृत्वका लागि इच्छा व्यक्त गरेका ७ मध्येका बस्नेत अध्यक्षमा चयन भएका हुन् । बस्नेत पनि यसअघि सङ्गठनको सह–संयोजकको भूमिकामा रहिसकेका छन् ।
सो अघि सिङ्गटी बजार स्थित खोलिखिम खेल मैदानमा आयोजित विशेष समारोहका बीच नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष पञ्चा सिंहले सम्मेलनको उद्घाटन गरेका थिए । सङ्गठनका जिल्ला संयोजक आर्टिस्ट मोक्तानको अध्यक्षतामा भएको समारोहलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्का, अर्का केन्द्रिय सदस्य एवं वरिष्ठ पत्रकार बलराम थापा लगायतले सम्बोधन गरेका थिए । त्यस्तै सम्मेलनको बन्द सत्रमा अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्षहरु पवन कार्की, केशव रावल, तुकमान महरा, इन्द्र भुषाल र महासचिव दिपेश पुन लगायतले समसामयिक विषयमा प्रशिक्षण दिएका थिए ।
