मैनापोखरी, ०३ जेठ । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा प्रथम दोलखा जिल्ला स्तरीय अन्तरपालिका पशुपति चौलागाईं स्मृति पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मूख्यमन्त्री राजेन्द्र पाण्डेले बिहिबार एक विशेष समारोहका बीच उद्घाटन गरे । पशुपति चौँलागाई फाउण्डेशनले आयोजना गरेको प्रतियोगिता मैनापोखरी बजार नजिकैको देउराली खेल मैदानमा सुरु भएको हो । प्रतियोगितामा प्रथम हुनेले एक लाख पचास हजार, द्वितिय हुनेले एक लाख र तृतीय हुनेले पचास हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
फाउण्डेशनका अध्यक्ष सुमन चौलागाईंको अध्यक्षतामा सम्पन्न खेलको उद्घाटन कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य शिवप्रसाद भण्डारी, राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, जिरी नगरपालिकाका नगर प्रमुख मित्र जिरेल, ले स्वर्गिय चौलागाईलाई स्मरण गर्दै उहाँको योगदानको चर्चा गरेका थिए ।