दोलखा, ३२ जेठ । भुकम्पका कारण क्षतिग्रस्त भइ पुननिर्माण भएको दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ भैँसे स्थित शारादा माविको भवन विहिबार हस्तान्तरण गरिएको छ ।
भवनको बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री खड्काले विद्यालयमा भौतिक संरचनाको विकाससँगै शैक्षिक गुणस्तरमा पनि ध्यान दिनुपर्ने भन्दै सबै सरोकारवालाको सहयोगबाट मात्रै सामुदायिक विद्यालयको उन्नयन सम्भव रहेको धारणा व्यक्त गरे । हाल विद्यालयमा पर्याप्त भौतिक संरचनाका साथै साधन र स्रोतको व्यवस्था हुँदा पनि शैक्षिक गुणस्तरको अवस्था उस्तै रहेको गुनासो आइरहेको भन्दै उनले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले त्यसमा विशेष ध्यान पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । शारादा मावि लगायत दोलखाका केही विद्यालय अरु जिल्लाहरुको जस्तै शैक्षिक हब बन्नुपर्नेमा खड्काको जोड थियो ।


एसियाली विकास बैङ्क र डिआरएसपीको करिव १० करोड लागतमा खानी संसारी जेभीले दुई वटा भवन (२४ कोठा) निर्माण गरेको हो । २०७७ मंसिरबाटै भवन निर्माणको काम सुरु भएता पनि कोरोना महामारी, भौगोलिक विकटता तथा आम निर्वाचनको कारण निर्माण कार्यमा केही ढिला भएको निर्माण कम्पनीका भुवन घिमिरेले जानकारी दिए । भवन निर्माण सम्पन्न भएसँगै साधारण र प्राविधिक धार तर्फका करिव साँढे ५ सय विद्यार्थीले अब नयाँ विद्यालय भवनबाट अध्ययन गर्न पाउने भएका छन् । विद्यालयका प्रधानाध्यापक मान बहादुर तमाङका अनुसार विद्यालयमा हाल साधारण तर्फ कक्षा १२ र प्राविधिक धार तर्फ ३ वर्षे बाली विज्ञान तथा १८ महिने पशु विज्ञान विषयको अध्यापन हुँदै आएको छ ।

विद्यालय व्यवस्थापन समितका अध्यक्ष कमल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष धन बहादुर तामाङ, पूर्व विव्यस अध्यक्ष रामेश्वर उप्रेती लगायत विविन्न सरोकारवाला पक्ष, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।


