दोलखा, ३० फागुन । दोलखाको मेलुङ गाउँपालिकामा सञ्चालित निशुल्क आखा शिविरबाट ५० जनाले आफ्नो आँखाको दृष्टि फिर्ता पाएका छन् ।
मेलुङ गाउँपालिका, तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौ, लायन्स क्लव दोलखा र दोलखा लायन्स आँखा केन्द्रको संयुक्त आयोजनामा गत फागुन २० देखि १० दिनसम्म सञ्चालित आँखा शिविरमा ५० जनाले शल्यक्रिया मार्फत गुमेको दृष्टि फिर्ता पाएका हुन् । गाउँपालिकाको वडा नम्बर १ पवटीबाट सुरु गरिएको आँखा शिविर पालिकाको ७ वटै वडामा सञ्चालन गरिएको थियो । सो क्रममा एक हजार भन्दा बढीले आँखा सम्बन्धी विभिन्न रोगको उपचार गराएको गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले जानकारी दिइन् । उपचारका क्रममा फेला परेका ४७ जनाको मोतियाविन्दु र ३ जनाको मासु पलाएको गरि ५० जनाको शल्यक्रियाबाट उपचार गरिएको उपाध्यक्ष आचार्यको भनाइ छ ।
शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानको वरिष्ठ नेत्र रोग विशेषज्ञ रिना बज्राचार्यको टोलीले शल्यक्रिया गरेको थियो । पालिकाभरका शल्यक्रिया गर्नुपर्ने विरामीलाई वडा नम्बर ६ स्थित त्रिभुवन माविमा भेला गरी उपचार गरिएको थियो । शल्यक्रिया गराउनु पर्ने बिरामीका लागि गाउँपालिकाले निशुल्क खाने र बस्ने व्यवस्था गर्नुको साथै शल्यक्रिया स्थलसम्म ल्याउन र पुन घर फर्काउन सवारी साधन समेत उपलब्ध गराएको थियो । गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले शिविर सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण निकाय र संघसंस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता गतिविधीहरुको सञ्चालनमा निरन्तरता दिने प्रतिवद्धता जनाए ।