चरिकोट, साउन १२ । दोलखाको सदरमुकाम चरिकोटस्थित एपेक्स स्कुलमा दुईदिने ‘पोटरी वर्कशप’ सम्पन्न भएको छ । मन्टेश्वरी शिक्षण प्रणालीमा आधारित विद्यालयले विद्यार्थीको सिर्जनशीलता, परम्परागत सीप तथा सांस्कृतिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सोमबार र मंगलबार उक्त कार्यशालाको आयोजना गरेको हो ।
कार्यशालामा भक्तपुरस्थित ‘पट्री ल्याब’का प्राविधिक प्रशिक्षकहरूले विद्यार्थीहरूलाई माटोबाट विभिन्न प्रकारका भाँडाकुँडा निर्माण गर्ने सीप प्रदान गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले माटो प्रयोग गरी विभिन्न आकृतिका भाँडा तथा सामग्री निर्माण गर्दै उत्साहपूर्ण रूपमा सहभागिता जनाएका थिए ।
विद्यालयका अनुसार यस्ता गतिविधिले बालबालिकामा सिर्जनशील सोच, एकाग्रता, धैर्यता तथा हात–आँखाको समन्वय विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यशालाका क्रममा विद्यार्थीहरूले माटोको बनोट, त्यसको प्रयोग तथा परम्परागत हस्तकलाका विविध पक्षबारे समेत जानकारी प्राप्त गरेका थिए ।

विद्यालयका प्रिन्सिपल नसीब कायस्थले बालबालिकालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक तथा अनुभवमा आधारित शिक्षा प्रदान गर्न विद्यालयले विशेष जोड दिँदै आएको बताए । “बालबालिका पनि काँचो माटोजस्तै हुन्छन् । उनीहरूलाई जसरी आकार दिन्छौं, त्यसले उनीहरूको भविष्य निर्धारण गर्छ,” उनले भने, “यस्ता कार्यक्रमबाट विद्यार्थीले मानसिक विकासका साथै हाम्रो परम्परागत सीप, कला र संस्कृतिबारे प्रत्यक्ष ज्ञान हासिल गर्ने अवसर पाउँछन् ।”


चरिकोटमा अवस्थित एपेक्स स्कुलले मन्टेश्वरी शिक्षण प्रणालीअनुसार विद्यार्थीको प्रत्यक्ष सहभागितामा आधारित विभिन्न सह–पाठ्यक्रम गतिविधि सञ्चालन गर्दै आएको छ । विद्यालयले समय–समयमा आयोजना गर्ने यस्ता कार्यक्रमले विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिरको ज्ञान र अनुभवसँग जोड्ने गरेको छ ।
यसअघि पनि विद्यालयले असार १५ का अवसरमा विद्यार्थीलाई खेतमै लगेर धान रोपाइँसम्बन्धी प्रत्यक्ष अनुभव दिलाएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूले रोपाइँको सांस्कृतिक महत्व, कृषि प्रणाली तथा नेपाली समाजमा कृषिको भूमिकाबारे जानकारी हासिल गरेका थिए ।
अनुभवमा आधारित सिकाइलाई प्राथमिकता दिँदै आएको एपेक्स स्कुलले आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । विद्यालयको यस पहललाई अभिभावक तथा स्थानीय समुदायले समेत सकारात्मक रूपमा लिएका छन् । (तस्बीर साैजन्यः एपेक्स स्कुल)


