दोलखा । कालिञ्चोक गाउँपालिकाद्वारा आयोजित पाँचौ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताको उपाधी फेरी पनि कालिनाग मावि सिङ्गटीले जितेको छ ।
यसअघि एउटा रनिङ शिल्ड पूर्ण रुपमा आफ्नो बनाइसकेको कालिनाग सिङ्गटीको यो लगातारको पाँचौ सफलता हो । यस पटकको प्रतियोगितामा कालिनाग मावि सिङ्गटीले एथलेटिक्स तर्फ ९ र छात्रा भलिबल तर्फ एक सहित १० स्वर्ण पदक र ७ रजत तथा ७ कास्य पदक पनि जित्यो । प्रतियोगितामा सर्वाधिक स्वर्ण जित्ने खेलाडी पनि कालिनाग मावि सिङ्गटीकै निशान सुवेदी बने । एथलेटिक्सका खेलाडी उनले ५ स्वर्ण पदक हात पारे । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पनि कालिनाग मावि सिङ्गटीकै खेल शिक्षक निर बहादुर बस्नेत घोषित भए ।
प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र २ कास्य पदक सहित हिलेपानी मावि दोस्रो भयो भने ६ स्वर्ण, ३ रजत र १ कास्य सहित निकोभूमे मावि तेस्रो हुन सफल भए । त्यस्तै कालिनाग मावि सुनखानी ४ स्वर्ण, १ रजत र ४ कास्य जित्दै आफूलाई प्रतियोगिताको चौथो स्थानमा राख्न सफल भयो भने बालोदय मावि १ स्वर्ण, १ रजत र १ कास्य सहित पाँचौ तथा कालिका मावि १ स्वर्ण र २ कास्य सहित छैठौँ स्थानमा रहे । प्रतियोगिताको व्यवस्थापक विद्यालय भगवती मावि तथा सहभागि विद्यालयहरु लापिलाङ मावि, जनज्योती मावि, सित्का मावि, जाल्पाश्वरी मावि र दिव्यश्वरी माविले भने स्वर्ण पदकको खाता खोल्न सकेनन् ।
कुल ३० विधाको प्रतिस्पर्धा सहित आयोजित कालिञ्चोकको रनिङ शिल्ड प्रतियोगितामा २९ विधाको मात्रै छिनोफानो गर्दै प्रतियोगिता सम्पन्न भएको हो । छात्रा तीन हजार मिटर तर्फको दौडमा कालिनाग मावि सिङ्गटीकै धावक मिरा थापाको जित विरुद्ध अन्य विद्यालयले विवाद निकालेपछि उक्त प्रतिस्पर्धाको फैसला बिनै प्रतियोगिता सम्पन्न भएको हो । मिराको जितको विषयमा निर्णायकहरुवीच नै मत बाझिएपछि उक्त विषय हाललाई थाँती राखिएको र केही समयमै छानविन पश्चात टुङ्गोमा पुगिने प्रमुख कार्यकारी अधिकृत नवराज वलीले जानकारी दिए ।
प्रतियोगिताको अन्तिम दिन विजयी खेलाडीहरुलाई प्रतिनिधी सभाका सदस्य गङ्गा कार्की विश्व, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी, उपाध्यक्ष कुलबहादुर बुढाथोकी लगायतले शिल्डल. मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । कालिञ्चोक गाउँपालिकाले यस पटकको प्रतियोगितामा कार्यविधीमा थप गर्दै विजयी खेलाडीहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरेको थियो भने सहभागि बाह्र ओटै विद्यालयका सात सय भन्दा बढी विद्यार्थी खेलाडीहरुलाई जर्सी सेट समेत उपलब्ध गराएको थियो ।