सिङ्गटी, ०९ चैत्र । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ सुरीमा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
सुरीको तिनेखु भन्ने ठाउँबाट सिङ्गटी बजार तर्फ आउँदै गरेको ट्याक्टर स्थानीय ठूलो चौतारा भन्ने ठाउँ नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा ट्याक्टर चालक गौरीशङ्कर ५ तिनेखुको २२/२३ वर्षका वुद्धवीर तमाङ र गौरीशङ्कर ५ भोर्लेका अन्दाजी ४५ वर्षका अमृत तमाङ रहेका छन् । दुर्घटनामा परी घाइते भएका भोर्लेकै पेम्बा तमाङलाई थप उपचारका लागि लागि काठमाण्डौ पठाइएको छ ।
यसैबीच मृतकका आफन्त र स्थानीयहरुले घटनास्थलबाट मृतकको शव उठाउन दिएका छैनन् । ट्याक्टर धनी अहिलेसम्म सम्पर्कमा नआएको र मृतकको परिवारलाई उचित क्षतिपुर्ति र घाइतेको उपचारको सुनिश्चितता नभएसम्म शव उठाउन नदिने उनीहरुको अडान छ । ट्याक्टर सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको स्थानीय आइते तमाङले जनतापेजलाई जानकारी दिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।