चरीकोट, ०३ फागुन । दोलखाको पहिचान कृषि, पर्यटन र पानी, स्थानीय उत्पादन र उद्यमशीलतामा लगानी’ नारासहित यही फागुन ६ गते मङ्गलबारदेखि सुरु हुने दोलखा महोत्सवको अवसरमा दोलखामा विभिन्न क्षेत्रमा छुट सुविधा दिइएको छ ।
महोत्सवलाई लक्षित गर्दै दोलखाका होटल व्यवसायीले आगन्तुकहरुलाई २५ प्रतिशत छुट दिने भएका छन् । महोत्सव हेर्न चरिकोट आउने आन्तरीक तथा बाह्य पर्यटकहरुलाई यहाँका होटलहरुले २५ प्रतिशत छुट दिने सहमति भएको छ, मूख्य आयोजक दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेतीले जनतापेजसँग भने । होटल व्यवसायीको यो अफरले महोत्सवलाई सफल बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


यस्तै दोलखामा सन्चालित एक मात्र केबलकार कालिन्चोक केबलकारले पनि महोत्सव अवधीभर टिकटमा १० प्रतिशत छुट दिने भएको छ । महोत्सव अवलोकनसँगै कालिन्चोक भगवती मन्दिर दर्शनका लागि जाने पर्यटकहरुलाई छुट सुविधा उपलब्ध गराइने भएको हो । ३८४२ मिटर उचाइमा रहेको कालिन्चोक मन्दिर सदरमुकाम चरीकोटबाट सरदर १ घण्टाको सडक यातयातबाट कुरीबजार र त्यहाँबाट केबलकार या थप एक घण्टाको पैदल यात्राबाट पुग्न सकिन्छ ।
त्यस्तै महोत्सव अवधीभर आगन्तुकलाई सहज होस भनेर जिल्लामा यातयात सेवा दिइरहेका अरनिको यातयात र रोल्वालिङ यातयातले पनि विशेष छुटका साथ साविकको भन्दा धेरै बसहरु सन्चालन गर्ने जनाएका छन् । आयोजक दोलखा उद्योग वाणिज्य संघका सचिव प्रविन श्रेष्ठका अनुसार रोल्वालिङ यातयातले महोत्सव अवधीभर १५ प्रतिशत भाडा छुट दिने जानकारी गराएको छ । श्रेष्ठका अनुसार स्थानीय स्तरमा चल्ने बोलेरो र टेम्पुको सहज सन्चालनका लागि पनि पहल गरिएको छ ।
चरकोट स्थित भीमेश्वर रङ्गशालामा सन्चालन हुने महोत्सव १८ गतेसम्म चल्नेछ ।
