सिङ्गटी, ०१ असार । एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन (यूएएनटिओ) दोलखाले दोलखाका उत्तरी तीन ओटा गाउँपालिकामा एक विद्यालय एक इकाई घोषणा गरेको छ ।
संङ्गठन विस्तारको केन्द्रिय रणनीति अनुसार शनिबार जिल्लाको कालिन्चोक, विगु र गौरीशङ्कर गाउँपालिकाका १२४ ओटा विद्यालयमा सङ्गठनको इकाई घोषणा गरिएको हो । जस अनुसार कालिन्चोकमा ४०, विगुमा ४१ र गौरीशङ्करमा ४३ ओटा विद्यालयमा (यूएएनटिओ) को इकाई घोषणा भएको एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन दोलखाका सचिव इन्द्र कुमार बस्नेतले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि एकिकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले शिक्षकका मागमुद्धा सम्बोधनमा सरकारले अझै बेवास्ता गरिरहेकाले शैक्षिक आन्दोलन जारी रहेको धारणा व्यक्त गरे । शिक्षकहको हरेक पेशागत माग सम्बोधन गराउन सम्बन्धित निकायमा थप दवाव जरुरी रहेको भन्दै अधिकारीले त्यसका लागि सबै शिक्षकहरु एक हुनुपर्ने आवश्यकता औँल्याए । यूएएनटिओ दोलखाका अध्यक्ष सन्तोष श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्का, अर्का केन्द्रिय सदस्य एवं वरिष्ठ पत्रकार बलराम थापा, यूएएनटिओका केन्द्रिय सचिव रामबहादुर खड्का, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ, विगु गाउँपालिकाका अध्यक्ष सन्जीव कुमार ओली, गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी, यूएएनटिओ दोलखाका पूर्व अध्यक्ष रविचन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साथै कार्यक्रमको अवसरमा उक्त सङ्गठनले काठमाण्डौमा निर्माण गर्ने बहुउद्देश्यीय भवनका लागि आर्थिक सहयोग गर्ने शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका अवसरमा गौरीशङ्कर गाउँपालिकाबाट गोपाल खड्का, तुलसी कार्की, अस्मिता पौडेल तथा विगु गाउँपालिकाबाट कृष्ण आचार्य र शंकर आचार्य लगायत दर्जनौं शिक्षकहरु अन्य सङ्गठन परित्याग गरी एकिकृत अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लगायत अथितिहरुले स्वागत गरेका थिए ।
यसैबीच विवेक कार्की ढोलीको अध्यक्षतामा गौरीशङ्कर गाउँपालिका स्तरिय एकिकृत अखिल नेपाल शिक्षक सङ्गठनको कमिटी चयन भएको छ । नवगठित समितिका पदाधिकारी एवं सदस्यहरुलाई सङ्गठनका केन्द्रिय अध्यक्ष अधिकारी, सचिव खड्का, लगायतले बधाइ र शुभकामना दिएका थिए ।