सिङ्गटी, २० मंसिर । दोलखाको गौरीशङ्कर गाउँपालिकामा सञ्चालित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी गौरीशङ्कर २ स्थित निलकन्ठेश्वर माविले जितेको छ ।
कुल २९ मध्ये २२ स्वर्ण पदक आफ्नो पक्षमा पार्दै निकन्ठेश्वरले रनिङ शिल्ड सहित प्रतियोगिताको उपाधी चुमेको हो । उक्त विद्यालयले ७ रजत तथा ५ कास्य सहित कुल ३४ पदक प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो भएको गौरीशङ्कर ५ स्थित हलेश्वर माविले ३ स्वर्ण मात्र जितेको छ । उसले ५ रजत र ५ कास्य सहित कुल १३ पदक जितेको छ । त्यस्तै तेस्रो हुन सफल गौरीशङ्कर ३ स्थित मानेडाँडा माविले २ स्वर्ण, ८ रजत र ८ कास्य सहित १८ पदक जितेको छ ।
त्यस्तै कुल १२ पदक जितेको गौरीशङ्कर ७ स्थित हिमवर्ती मावि र ५ पदक जितेको गौरीशङ्कर ८ स्थित खारे माविले आफ्नो भागमा १/१ स्वर्ण मात्र जित्न सफल भएका छन् । कुल ९ पदक पाएको गौरीशङ्कर ६ स्थित भूमेगुम्बा मावि भने स्वर्ण पदक विहिन बन्न पुग्यो । उसले आफ्नो उपाधी खातामा २ रजत र ७ कास्य पदक मात्रै जोड्न सफल भयो ।

गत विहिबार नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले उद्घाटन गरेको प्रतियोगितामा गौरीशङ्करका ६ ओटा माध्यमिक विद्यालयका झण्डै ७०० विद्यार्थीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको समापन समारोहमा गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, उपाध्यक्ष उमा शेर्पा, वडा नम्बर ३ का अध्यक्ष एवम् गाउँपालिकाका सामाजिक विकास संयोजक युगबहादुर बस्नेत, वडा नम्बर २ का वडाध्यक्ष रोहित बुढाथोकी लगायतले विजयी विद्यालय तथा विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।



