दोलखा, २ असार । शुक्रबार बेलुका दोलखा आइपुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राचिन दोलखा बजारको भ्रमण गर्नुको साथै त्यहाँ स्थित स्थानीय नेवार समुदायसँग भेटघाट गरेका छन् ।
शनिबार विहान दोलखा बजार पुगेका मन्त्री श्रेष्ठले प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको दर्शन गर्नुको साथै दोलखा बजारका पुरातात्विक महत्वका स्थलहरुको भ्रमण गरे । भ्रमणका क्रममा स्थानीय नेवार समुदायका अगुवाहरुले तत्कालिन अवस्थाबारे अवगत गराएका थिए । त्यसपछि स्थानीय एक होटलमा नेवार समुदायले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागि भएका गृहमन्त्री श्रेष्ठले दोलखाको ऐतिहाँसिक महत्वका बारेमा थाहा पाउँदा आफुलाई खुसि र गर्व लागेको भन्दै यहाँको प्रवर्दनका लागि आफूले सकेको भूमिका निर्वाह गर्ने वचन दिए ।
सो अवसरमा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य मुक्ति नारायण प्रधान, प्राचिन दोलखाका अध्ययता शान्तकृष्ण श्रेष्ठ, भीमेश्वर २ का वडाअध्यक्ष स्टालिन श्रेष्ठ, स्थानीय अगुवा एवं माओवादी नेता अजय प्रधान लगायतले दोलखा बजारको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरुबारे गृहमन्त्रीलाई अवगत गराएका थिए ।
कार्यक्रम दोलखा माओवादीका संस्थापक मध्येका एक हेम बहादुर श्रेष्ठका ९० वर्षका पिता नर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । शनिबार नै गृहमन्त्री दोलखा माओवादी केन्द्रको कार्यालय उद्घाटन, रितबहादुर स्मृती सभा, जिल्ला स्थित सुरक्षा निकाय र जनप्रतिनिधी तथा उद्योगी व्यवसायीहरुसँगको छलफल लगायतका कार्यक्रममा सहभागि हुँदैछन् ।



