सोलुखुम्बु, २६ असार । सोलुखुम्बुको लिखुपिके गाउँपालिका स्थित लाम्जुरा डाँडामा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा मङ्गलबार ६ जनाको मृत्यु भयो ।
सोलुखुम्बुकै सुर्के भन्ने स्थानबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाईन भएको हेलिकप्टर दुर्घटना हुँदा पाईलट सीबी गुरुङ सहित त्यसमा सवार ५ जना मेक्सिकन नागरिकहरुको मृत्यु भएको हो । माउण्टेन फ्लाईटका लागि सोमबार नै त्यस क्षेत्रमा गएको मेक्सिकन नागरिकको टोली उक्त दिन मौसम खराब भएपछि उतै बसी मङ्गलबार विहान माउन्टेन फ्लाईट गरेर काठमाण्डौ फर्किँदै थियो ।
काठमाण्डौ आउने हवाई मार्ग सफा रहेको जानकारी पश्चात विहान १०ः०५ मा उडान गरेको सो हेलिकप्टर १०ः१३ मा लाम्जुरा पास आसपासको क्षेत्रबाट सम्पर्क विहिन भएको थियो । हेलिकप्टर सम्पर्क विहिन भएपछि खोजीकार्य तीब्र पारिएको थियो । दुर्घटना स्थलमा प्रहरी पुग्दा बाक्लो हुस्सु लागेको र यसै (मौसम प्रतिकुलता) लाई दुर्घटनाको प्रारम्भिक कारण मानिए पनि खास कारण छानविन प्रतिवेदन आएपछि मात्रै थाहा हुने जनाइएको छ ।
नेपालमा यो वर्ष २०८० साल सुरु भएको तीन महिना नबित्दै दुई ओटा हेलिकप्टर दुर्घटनामा परिसकेका छन् । यस अघि गत बैशाख २१ मा सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् ।