चरिकोट, २० पौष । जिल्ला सहकारी संघ लि. दोलखाको १९ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
दोलखा सदरमुकाम चरिकोट स्थित हाम्रो रेडियोको सभाहलमा आयोजित साधारण सभाको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबि बस्नेतले उद्घाटन गरेका थिए ।
संघका अध्यक्ष देवी प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभामा बागमती प्रदेश सहकारी संघका पूर्व महासचिव भीम प्रसाद दहाल, दोलखा जिल्ला बचत संघका अध्यक्ष भूमिराज खड्का, सहकारी व्यवस्थापकहरुको साझा मञ्चका दिपक बस्नेत, दोलखा उद्योग बाणिज्य संघका उपाध्यक्ष विमल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाका क्रममा अध्यक्ष शर्माले गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मको कुल २१ करोड ८३ लाख १९ हजार १४ रुपैया बराबरको आर्थिक तथा संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधारणसभाको अवसर पारेर संघले सहकारी अभियानमा विशेष योगदान पुर्याएको भन्दै विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । जसमध्ये सहकारी पत्रकारिता पुरस्कार पत्रकार केदार शिवाकोटीलाई प्रदान गरिएको छ । त्यसैगरी संघको गतिविधिलाई सहयोग पुर्याए बापत मेलुङ गाउँपालिका, सहकारी अभियन्ता ढाल बहादुर सापकोटा, उत्कृष्ट बचत तथा ऋणको कारेवार गर्ने संस्था हाम्रो जनकल्याण साकोस र अर्थभूमि साकोसलाई पनि सम्मान गरिएको छ । यस्तै पूर्व सञ्चालक रत्न बहादुर श्रेष्ठ, उत्कृष्ट व्यवस्थापक चुडामणि घिमिरे, उत्कृष्ट महिला कर्मचारी जुना चापागाईं र रमेश सापकोटा पनि सम्मानित भएका छन ।