चरिकोट, १२ बैशाख । प्रतिनिधि सभाका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले बर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने दावी गरेका छन् ।
प्रेस सेन्टर नेपाल दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको पत्रकार भेटघाट एवं चियापान कार्यक्रममा बोल्दै माओवादी केन्द्रका प्रवक्ता समेत रहेका सापकोटाले सत्ता समिकरण टुट्ने, भत्कने जस्ता भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरे । राजनीतिमा कुनै कुराको ग्यारेन्टी नभए पनि राष्ट्रियता, लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि अहिलेको सत्ता गठबन्धनको विकल्प नरहेको उनको भनाइ छ । सापकोटाले बर्तमान सत्ता गठबन्धन देशले खोजेको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको जिकिर समेत गरेका छन् ।
अर्काे एक प्रसङ्गमा नेता सापकोटाले भारत र चिन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम राख्दै असंलग्न परराष्ट्र नीतिलाई कायम राख्नुपर्ने र अहिलेको समयमा त्यसको सान्दर्भिकता झनै बढेर गएको धारणा राखे ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष सुरज बस्नेत अबिरलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज शशि श्रेष्ठ, केन्द्रीय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्का, एमाले नेता एवं बागमती प्रदेश सभाका सदस्य भरत बहादुर केसी, एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष भीमप्रसाद दहाल लगायतको सहभागिता रहेको थियो।