खारे-दोलखा, ०८ कार्तिक । दोलखाको गौरीशङ्कर गाउँपालिकाका दुई ओटा विद्यालयलाई अष्ट्रियाली नागरिकहरूले कम्प्युटर लगायतका सामाग्री सहयोग गरेका छन् ।
गौरीशङ्कर गाउँपालिका वडा नम्बर ८ खारे स्थित छेसाखारे आधारभूत विद्यालय र खारे माध्यमिक विद्यालयलाई निमा शेर्पाको पहलमा अष्ट्रियाका नागरिक मिस्टर मार्टिन र एन्ड्रयुले उक्त सामान उपलब्ध गराएका हुन् । उपलब्ध सहयोग अन्तर्गत छेसाखारे आधारभूत विद्यालयलाई १० थान कम्प्युटर, १ थान ल्यापटप, १ थान प्रिन्टर र विद्यार्थीहरूलाई ५० थान ट्र्याक-सुट उपलब्ध गराइएको छ भने खारे माध्यमिक विद्यालयलाई पनि १० थान कम्प्युटर र केही थान ट्र्याकसुट उपलब्ध गराइएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा गौरीशङ्कर ८ का वडाअध्यक्ष दावा शेर्पाले यस किसिमको सहयोगले ग्रामिण क्षेत्रका विद्यालयको शैक्षिक स्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पहलकर्ता र सहयोगदातालाई धन्यवाद दिए ।


