चरिकोट, १४ जेठ । दोलखाको गौरीशङ्कर गाउँपालिका ५ सुरी स्थित हलेश्वर माविमा आर्थिक हिनामिना भएको भन्दै प्रशासनमा उजुरी परेको छ ।
स्थानीय समेत रहेका नेकपा माओवादी केन्द्रका युवा नेता दिनेश गुरुङ लगायतले विद्यालयमा बाह्र लाख आर्थिक हिनामिना भएको भन्दै छानविन गरी कारबाहि गर्न माग गरेका हुन् । साथै उजुरीमा विद्यालय नै बन्द गरी कक्षा १० का विद्यार्थी र शिक्षक मात्रै भ्रमण गएको बारेमा पनि आवश्यक छानविनका लागि माग गरिएको छ । कक्षा १० का विद्यार्थीलाई भ्रमण लगिए पनि अन्य कक्षाको पठनपाठन हुनुपर्नेमा त्यसो नभएको उजुरीमा उल्लेख छ ।
उजुरी पश्चात जिल्ला प्रशासन कार्यालय दोलखाले सोमबार नै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेखि सत्यतथ्य पत्ता लगाउन भनेको छ ।