पवटी, २२ चैत्र । दोलखाको मेलुङ गाउँपालिकामा सोमबार बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन हुने भएको छ ।
गाउँपालिकाको वडा नम्बर १ पवटी स्थित रमाइलोचोकमा हुने सम्मेलनको तयारी पूरा भएको आयोजक मेलुङ गाउँपालिका न्यायिक समितिले जनाएको छ । मेलुङ गाउँपालिकाका उपाध्यक्ष एवम न्यायिक समिति संयोजक गायत्री आचार्यका अनुसार सम्मेलनमा बागमती प्रदेशका ७४ ओटै गाउँपालिका अन्तर्गतका न्यायिक समितिका संयोजकहरु सहभागी हुनेछन् । दोलखाबाट भने दुई नगरपालिका भीमेश्वर र जिरीको न्यायिक समिति संयोजक पनि सहभागि हुनेछन् ।
सम्मेलनको उद्घाटन सत्रमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत केसी र काठमाडौं महानगरपालिकाका कार्यबाहक मेयर सुनिता डंगोल पनि सहभागि हुने उपाध्यक्ष आचार्यले जानकारी दिइन् । सम्मेलनमा मेलुङ गाउँपालिकाको न्यायिक समितिका तर्फबाट कार्यपत्र प्रस्तुत हुनेछ । स्थानीय स्तरमा न्यायिक समितिको प्रभावकारिता,समीक्षा र चुनौतीको विषयमा व्यापक छलफल पश्चात मेलुङ घोषणा पत्र जारी गर्दै सोमबार नै सम्मेलन सकिनेछ ।



