चरीकोट, ८ चैत्र । दोलखा सदरमुकाम चरीकोट स्थित एपेक्स स्कुलले आफ्नो विद्यालय अन्तर्गतको खेलकुद उत्सव एपेक्स ओलम्पियाड सम्पन्न गरेको छ ।
जुनियर र सिनियर तर्फका २१ ओटा खेल विधामा प्रतिस्पर्धा भएको ओलम्पियाडमा यूकेजीमा अध्ययनरत सलिन बुढाथोकी र सिराक्रिनब श्रेष्ठले स्वर्ण जितेका छन् । उनीहरूले विविध प्रतिस्पर्धामा अन्यलाई उछिन्दै ५–५ स्वर्ण हात पारे । खेलकुदका माध्यमबाट बालबालिकाहरूको शारीरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वासका साथ आयोजित ओलम्पियाडमा प्ले–ग्रुपदेखि कक्षा ५ सम्मका जुनियर ब्लक र कक्षा ६ र ७ का सिनियर ब्लकका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।
सानै उमेरदेखि नै खेलकुदमा सहभागी हुँदा बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य अब्बल हुने भन्दै विद्यालयका प्रिन्सिपल नसीब कायस्थले वार्षिक परीक्षाको पूर्वसन्ध्यामा खेलकुद आयोजना गरिनुको मुख्य उद्देश्य विद्यार्थीहरूमा परीक्षाको तनाव कम गराई मनोबल उच्च गराउनु भएको बताए । उनका अनुसार विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि केवल किताबी ज्ञानमा मात्र सीमित नभइ नयाँ–नयाँ रचनात्मक गतिविधि गर्दै आएको छ ।
खेलकुदसँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राख्दै आएको एपेक्स स्कुल दोलखाको एक मात्र मन्टेश्वरी प्रणालीमा आधारित विद्यालय हो । उक्त विद्यालय केही समय अघि सम्पन्न भीमेश्वर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोस्रो भएको थियो ।



