चरीकोट, १९ चैत्र । माध्यमिक शिक्षा परीक्षा एसइइ आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष १ हजार ९६६ परीक्षा केन्द्रमा सामुदायिक, संस्थागत विद्यालयका गरी कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीहरु परीक्षामा सहभागि हुँदैछन्, जसमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य परीक्षार्थीहरु परिक्षामा सहभागी हुनेछन् । यस्तै जापानको एभरेस्ट स्कुलबाट २३ जना परिक्षार्थीले परीक्षा दिनेछन् ।
देशभरका सबै परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन १९ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम खण्डका सबै, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धार तर्फका बाँकी विषयहरुको परीक्षा सञ्चालन हुने एसइइ परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन् ।
सामूहिक अनुगमनमा रोक
परीक्षा बोर्डले यस वर्ष एसइइ परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाबाट सामूहिक रुपमा प्रतिनिधिहरु हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीहरुको लेखन कार्यमा अवरोध भएको गुनासो आएपछि बोर्डले सामुहिक अनुगमनमा रोक लगाएको परीक्षा नियन्त्रक अधिकारीले बताए । अनुगमनका लागि प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिहरुले परीक्षा केन्द्रको बाहिरी क्षेत्रमा मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको छ । साथै पत्रकारहरुले पनि परीक्षा केन्द्रको बाहिरी तस्बिर मात्रै खिच्न वा छायांकन गर्न मिल्नेगरी व्यवस्था मिलाइएको छ ।
उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण हुने
यस वर्षको एसइइ परीक्षाको उत्तर पुस्तिका परीक्षा केन्द्रमै परीक्षण गर्ने बोर्डले जनाएको छ । यदि सम्बन्धित केन्द्रमा शिक्षक नभएमा वा सुरक्षाको दृष्टिकोणले असुरक्षित भएमा मात्र शिक्षा विकास तथा समन्वय इकाइले सहजीकरण गरेर अर्को व्यवस्था गर्न सक्ने बोर्डले जनाएको छ । परीक्षा सकिएको एक महिना भित्रै परीक्षाफल सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो त्यहीबाट उत्तरपुस्तिका परिक्षण गर्न लागिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसइइको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न बोर्डलाई निर्देशन दिइसकेका छन् ।



