दोलखा, १५ असार । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ बन्चरे नजिकै पार्किङ गरि राखिएको यात्रुबाहक बसमा मृत भेटिएका सहचालकको शव सदमुकाम चरिकोट ल्याईएको छ ।
शनिबार सदरमुकाम चरिकोटमा गाडी धनी, यातयात समितिका प्रतिनिधि, प्रशासन र पीडित पक्षबीच छलफल गर्ने र शवको पोष्टमार्टम रिपोर्टपछि दोषी ठहरिए आवश्यक कारबाही अघि बढाउने सहमति पछि मृतकका आफन्त शव उठाउन सहमत भएको इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रमुख प्रहरी निरिक्षक सानु तमाङले जनतापेजलाई जानकारी दिनुभयो । तमाङका अनुसार घटनापछि छानविनका लागि नियन्त्रणमा लिइएका सोही गाडीका चालक सहित अन्य तीन जनालाई पनि जिल्ला प्रहरी कार्यालय चरिकोट पठाईएको छ ।
बिहिबार सिङ्गटीमा यात्रु ओरालेर पुन बन्चरे आई बजार नजिकै पार्किङ गरिराखिएको बा ३ ख ८३९ नम्बरको यात्रुबाहक बसका सहचालक दोलखाको गौरीशङ्कर गाउँपालिका ३ महताराका अन्दाजी ४० वर्षका नारायण बहादुर खत्री मृत भेटिएका थिए । मृतकको टाउकोमा चोट लाग्नुका साथै रगत समेत बगेको देखिएपछि घटना शंकास्पद भएको भन्दै मृतकका आफन्त र स्थानीयले निष्पक्ष छानविन र क्षतिपुर्तिको माग गर्दै चरिकोट–सिङ्गटी सडक अवरुद्ध पार्नुको साथै मृतकको शव समेत उठाउन दिएका थिएनन् ।