दोलखा, १६ पौष । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ५ मा फेला परेको शव शैलुङ ४ का युवकको भएको पुष्टि भएको छ ।
सोमबार विहान स्थानीय बीरेन्द्र मावि नजिकै बजिनी खोलामा फेला परेको शव शैलुङ ४ का भीष्म भण्डारीको भएको पुष्टि भएको हो । भण्डारीको शव घोप्टो परेको्, टाउकोमा गम्भिर चोट लागेको, बाँया हातका तीन ओटा औला नभएको, दायाँ हातमा समेत गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा हत्या जस्तोे देखिए पनि कुनै खास प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ । शव फेला परेको ठाउँभन्दा केही माथि रगत लागेको अवस्थामा भण्डारीको चस्मा फेला परेकाले अन्य स्थानमा हत्या गरी भण्डारीको शवलाई उक्त स्थानमा ल्याएर फालेको अनुमान स्थानीयले गरेका छन् ।
मृतकको शव हाल सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको छ । घटनाको बारेमा थप अनुषन्धान भइरहेको प्रहरीले जनाएको छ ।