दोलखा, १३ पौष । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकारको एक वर्षको अवधीमा देशको आर्थिकस्तर माथि उठेको दावी गरेका छन् ।
एक वर्ष अघि आफूले सरकारको नेतृत्व सम्हाल्दा भयावह स्थिती रहेको स्मरण गर्दै प्रधानमन्त्री दहालले आफ्नो कार्यकालको एक वर्ष बितिरहँदा पहिलेको तुलनामा धेरै सुधार आएको जिकिर गरे । सरकारका सामु दवाव र चुनौतीहरु प्रसस्तै रहेपनि धेरै निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको बृहत दोलखा महोत्सब २०८० को शुक्रबार सदरमुकाम चरिकोटमा उद्घाटन गर्दै प्रधानमन्त्री दहालले सबैले सकरात्मक ढङ्गले आ–आफ्नो ठाउँबाट पहल गरेर अर्थतन्त्रलाई राम्रो लयमा फर्काउन सकिने विश्वास व्यक्त गरे ।
आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ अभियानको दृढताका साथ नेतृत्व गरिरहेको भन्दै प्रधानमन्त्री दहालले सबैले निराशालाई त्यागेर आशावादी भइ अघि बढे विकासमा फड्को मार्न सकिने धारणा राखे । सरकारद्वारा स्थानीय पुँजी, श्रम, स्रोत र संरचनामा आधारित आम रोजगार तथा स्वरोजगार सृजनाको कल्पना गरिएको भन्दै उनले त्यसका लागि सरकारी, सहकारी, नीजि क्षेत्र र समुदायको एकताबद्ध साझेदारी आवश्यकता पर्ने र त्यसका लागि सरकारले जस्तोसुकै सहयोग गर्ने विश्वास दिलाए ।
भारत चिन जोड्ने अन्तर सिमा सम्बन्ध, संस्कृति र अर्थतन्त्र विकासमा विशेष योगदान पुर्याउन सक्ने क्षेत्रहरुको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डले दक्षिण एसियाली सभ्यताकै बहुआयामिक विशेषताको बोकेको दोलखाको उत्तरी लामाबगरको फ्लाकदेखि तामाकोशी करिडोर हुँदै भारत जोडिने उत्तर–दक्षिण अन्तरदेशीय राजमार्ग विस्तारलाई सरकारले राष्ट्रिय महत्वको दिर्घकालिन योजनामा समावेश गरि अग्रसरताका साथ अगाडी बढाएको जानकारी दिए ।
दोलखामा राष्ट्रय तथा अन्तराष्ट्रिय महत्वका अनेकौ धार्मिक, प्राकृतिक, साँस्कृतिक र ऐतिहासिक सम्पदाहरु रहेको भन्दै दहालले दोलखालाई प्रमुख गन्तव्यको रुपमा विकास र विस्तार गर्न दोलखा–काठमाण्डौ राजमार्गलाई पर्यटनमैत्री बनाउनुको साथै अन्य पर्यटकिय पूर्वाधार विकासमा पनि सरकारको ध्यानाकर्षण भएको जानकारी दिए । उनले आफू प्रधानमन्त्री भएकै बेला दोलखामा फिल्मसिटी निर्माणको लागि योजना स्विकृत गरी जग्गाको भोगाधिकार समेत प्रदान गरेको स्मरण गर्दै त्यसलाई पूर्णता दिन आफू नेतृत्वको बर्तमान सरकारले पूरै सहयोग गर्ने विश्वास समेत दिलाए ।